कमल ताल
दिनेश खड्का
बाउन्न पोखरी त्रिपन्न टाकुरीको नामले प्रसिद्ध रुकुम जिल्लाको रुकुमकोट गा.वि.स.मा पर्ने बाउन्न पोखरीहरू मध्येको एक पोखरी कमल ताल हो । रुकुमकोट गा.वि.स. वडा नं. १ र ७ मा पर्ने यो ताल १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पौराणिक भनाई अनुसार हाल कमल ताल भएको ठाउँमा परापूर्वकालमा गैरीगाउँ थियो । एक दिन भगवान विष्णु जोगीको रूप धारण गरी त्यो ठाउँमा घुम्न आए । वेलुकी अवेर भैसकेको थियो, गाउँमा वासको खोजी गरे तर सारा गाउँमा कसैले पनि वास दिएनन् अन्तमा एकजना कुटुम्वरी बज्यैले वास दिईन उनीसँग खानेकुरा केही नभएकाले ती जोगीलाई चामलको कनिका खुवाएर त्यो दिन बास बसालिन् । भोलिपल्ट विहानै जोगीले ती कुटुम्वरी बज्यैलाई कुखुराको खोर हेर्न भनेका थिए ।

भोलिपल्ट कुटुम्वरी बज्यैले कुखुराको खोरमा हेर्दा सुनको लड्डु भेटिन । भोलिपल्ट विहान जोगी फर्कने क्रममा आफ्नो कमण्डलुमा पानी लिएर त्यस गैरीगाउँमा पोखि दिए । त्यो पानीले सारा गैरी गाउँ डुव्यो तर कुटुम्वरी बज्यैको घर डुबेन अहिले तालको वीचमा एउटा मन्दिर छ त्यो मन्दिर कुटुम्वरी वज्यैको घर भएको विश्वास गरिन्छ । तालको वीचमा पुराना ईट्टाहरूले बनेका घरहरूका भित्ताहरू देखिन्छन् । यसरी गैरीगाउँ डुवे पछि कमल तालको उत्पत्ति भएको पौराणिक किंवदन्ति छ ।
गैरीगाउँ डुवेर ताल निर्माण भैसकेको लामो समयपछि पनि यस तालमा ढिंकी कुटेको, जातो पिसेको, भाले बासेका आवाजहरू आईरहन्थ्यो । यस तालमा पाईने कमलको बोटलाई भगवान विष्णुका प्रसादका रूपमा लिईन्छ । यस ताल वरपर धेरै सर्पहरू पाईन्छन् । तत्कालिन समयमा यस तालभित्र विभिन्न देवीदेवताको कुण्ड भएकोले सर्प भएको वुढापाकाहरूको भनाई छ । उनीहरूका अनुसार ती सर्पहरू भगवानका प्रतीक भएकोले कसैलाई नडसेको बताउँछन् ।

१.९५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो तालमा नेपालमै दुर्लभ मानिने कमल फूल पाईन्छ । कमल पाईने राप्ती अञ्चलको एक मात्र यो ताल धार्मिक तथा वैज्ञानिक रूपमा समेत कमलको डाँठबाट वनेका परिकारले कमलपित्त लगायतका छालाका रोग निको हुने बताईन्छ । यस तालमा स्नान गर्नाले विभिन्न रोग निको हुने भनाई छ । यस तालमा स्नान गर्नाले रोग तथा पाप नष्ट हुने विश्वासमा दैनिक जसो मानिसहरू यस तालमा स्नान गर्दछन् । प्रत्येक वर्ष माघे संक्रान्तिका दिन यस तालमा नुहाउनेहरूको घुईंचो लाग्ने गर्दछ ।
यस तालको किनारमा विभिन्न मन्दिरहरू भएकोले बडा दशैं, तीज तथा शिवरात्री पर्वमा तालको किनारमा विशेष मेला लाग्ने गर्दछ भने प्रत्येक सोमबार, मंगलबार तथा शनिबार यहाँका मन्दिर तथा तालमा नुहाउने तथा पूजा गर्नेको भिड लाग्छ ।
रमणीय वातावरण, सानो उपत्यकाभित्र पर्ने यो तालको उत्तरतिर राणाकालिन समयमा बनेका कलात्मक शिव मन्दिर, पश्चिममा बाहुनथाना गाउँ पूर्वमा सानो आकर्षक जंगल तथा सिस्ने क्याम्पस रहेको छ । यस तालमा प्रत्येक वर्ष माघ–फागुनमा कमलको डाँठ निकाल्ने गरिन्छ भने चैतदेखि साउनसम्म कमल फुल्ने हुनाले यहाँको वातावरणीय आकर्षण बढ्ने गर्दछ । सधै अटल रहने कमल ताल रुकुम जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक ताल हो ।
